एजेन्सी । मस्कोस्थित स्पार्टक रंगशालामा, ट्युनिसियाविरुद्ध बेल्जियम पुरानै लयमै हुनेछ । र, पानामाविरुद्धको जितले उत्साहित रेड डेभिल्स टोलीको मुख्य लक्ष्य नआउट चरण प्रवेश नै हुनेछ ।
यता, पहिलो खेलको पराजयले ट्युनिसियालाई पीडा दिएको छ । तर, बेल्जियविरुद्ध ट्युनिसिया पहिलो हारलाई शक्तिमा बदल्दै अघि बढ्न चाहन्छ । विश्वकपको दोस्रो चरणको लागि ट्युनिसियालाई जित बाहेक अन्य विकल्प छैन ।
दुई टोली मैदान प्रवेश गर्दा दुवै आफ्नो लक्ष्यमा अडिक रहने छ । जसले खेलमा रोमान्चकता थप्ने छ । अघिल्ला खेलको इतिहास हेर्दा समेत यो बुझ्न सकिन्छ । दुई टोलीबीच तीन पटक खेल भएको इतिहास छ । जसमा दुवै टोलीले समान एक एक जित निकाल्दा एक बराबरी भएको छ ।
सन् १९९२ मा भएको मैत्रीपूर्णमा ट्युनिसियाले २ – १ जितेको थियो । सन् २००२ को विश्वकपले दुई टोलीले १ – १ गोलको बराबरी खेलेको थियो । सन् २०१४ को मैत्रीपूर्णमा भने बेल्जियमले १ – ० को जित निकालेको थियो ।
पछिल्लो समय बेल्जियम निकै उच्च लयमा फुटबल खेलिरेहेको छ । उनको मिडफिल्ड निकै बलियो छ । युरोपियन लिगमा जमेका खेलाडीको बाहुल्यता छ बेल्जियमसँग । पहिलो जितले उसलाई अझ आत्मविश्वासी बनाएको छ । तर, ट्युनिसियाविरुद्ध बेल्जियम सचेत भने रहने छ ।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भने, 'ट्युनिसिया विकशित हुँदै आएको छ । उनीहरुका खेलाडीले धेरै टिमलाई आश्चर्य बनाएको छ । हामीले सामना गरेको मध्ये उनीहरु सबैभन्दा गतिशील टिम हुनेछन् । हामीले पानामासँगको भन्दा धेरै राम्रो गर्नु पर्ने हुन्छ ।'
ट्युनिसिया विरुद्ध जित निकालेमा बेल्जियम ६ अंक जोडेर नकआउट चरणमा पुग्ने छ । पहिलो खेलमा बेल्जियमले पानामालाई ३ - ० ले हराएको थियो । र, ट्युनिसियासँग पराजित र बराबरी खेलेमा अन्तिम खेल कुर्नु पर्ने हुन्छ । अन्तिम खेलमा बेल्जियमले यो समूहकै अर्को बलियो टोलि इंग्ल्यान्डसँग खेल्नेछ ।
ट्युनिसियालाई यो खेल निकै महत्वपूर्ण छ । पहिलो खेलमा अन्तिम समयमा चुक्दाको परिणाम ट्युनिसियालाई समूह चरण पार नगर्ने स्थितिमा पुर्राएको छ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्यान्डसँग २ - १ ले पराजित भएको थियो । त्यसैले यो खेल जित्दै ट्युनिसिया दोस्रो चरण पुग्ने सम्भावना जीवित राख्न चाहन्छ । जसको लागि ट्युनिसिया लयमा रहेको बेल्जियमलाई रोक्न तयार छ ।
'पहिलो खेलको परिणामले हामीलाई धेरै दबाब छ, हामीलाई यो खेल जित्नु पर्छ । अन्य कुनै बिकल्प छैन,' ट्युनिसियाका प्रशिक्षकनविल मलोउलले भनेका छन्, 'तर, हामी यो समूहकै सबैभन्दा राम्रो टोलीसँग खेल्दै छौ । उनीहरुको मिडफिल्ड धेरै राम्रो छ । हामीले केहि परिवर्तन गर्नु पर्छ ।'
तस्बिर : एजेन्सी