एजेन्सी । सम्भवत, समुह एफबाट नकआउट चरण पुग्ने पहिलो टोली मेक्सिको हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदै गर्दा मेक्सिकोको एक मात्र लक्ष्य प्रि क्वार्टरफाईनल पुग्नु हुनेछ ।
विश्व विजेता जर्मनीलाई पहिलो खेलमा स्तब्ध बनाएर हौसिएको मेक्सिको सहज अवस्थामा छ । दक्षिण एसियाबाट प्रतिनिधित्व गर्दै विश्वकपमा छानिएको दक्षिण कोरिया पहिलो खेलमा स्विडेनसंग पराजित भएको थियो । जुआन कार्लोस ओसोरियो नेतृत्वको मेक्सिकोले जर्मनीलाई स्तब्ध पार्ने क्रममा हिरविङ लोजानो उत्कृष्ट गोल गरेका थिए । सोही जितले मेक्सिकोलाई अन्तिम १६ को बाटो देखाएको थियो ।
मेक्सिकोका प्रशिक्षक ओसोरियोले आफुहरु रोस्तोभ एरिनामा हुने खेलमा बढी आत्मविश्वासी बनेर गल्ती नगर्ने बताईसकेका छन् । ‘हामीलाई आश छ, आफ्नो लक्ष्य प्राप्तिमा हामीले आराम गर्ने छैनौ । लयबाट बाहिर जाने छैनौ । हामीलाई राम्रोसंग थाहा छ, फुटबलमा सबै कुरा एक रातमै परिवर्तन हुन सक्छ,’ प्रशिक्षक ओसोरियोले भने, ‘हामी निकै बलियो प्रतिद्वन्द्वीविरुद्ध खेल्न गईरहेका छौ । हामीसंग खेल जित्ने पुरै सम्भावना छ । सबै खेलाडी त्यसमै केन्द्रित छन् । हामी जर्मनीलाई हराउन मात्र विश्वकपमा आएका थिएनौ ।’
दक्षिण कोरिया, स्विडेनसंग साँधुरो गोल अन्तरले पराजित भएको थियो । तर प्रशिक्षक ताई योङ सिनले स्ट्राईकर हेङ मिन सोनले रोस्तभमा हुने खेलमा आफ्नो क्षमता प्रस्तुत गरेर टोलीलाई प्रतियोगितामा फर्काउने विश्वास ब्यक्त गर्छन् । ‘मलाई लाग्छ उनी एसियाकै उत्कृष्ट खेलाडी हुन् । तर स्विडेनविरुद्धको खेलमा उनले निकै समस्या भोग्न पर्यो । हामीले रक्षात्मक खेल प्रर्दशन गर्यो । सोही कारण उनले आफ्नो क्षमताको प्रर्दशन गर्न सकेनन् ।’ उनले भने ।
मेक्सिकोले जर्मनीविरुद्धको खेलमा उतारेको टोलीलाई मौका दिने बताएको छ । दक्षिण कोरियाले आश्चार्यजनक रुपमा पहिलो खेलमा गोलकिपर हाईओन वु जोलाई मौका दियो । उनले स्विडेनविरुद्ध उत्कृष्ट प्रर्दशन गरे । समुह चणको दोस्रो खेलमा समेत उनी अटाउने विश्वास छ ।
मात्र एक पटक मेक्सिको र दक्षिण कोरिया आमने सामने भएका छन्, सन् १९९८ को विश्वकपमा । सो खेलमा मध्य अमेरिकी मुलुक ३–१ ले विजयी भएको थियो ।