एजेन्सी । विश्व फुटबलकै कुम्भमेला फिफा विश्वकपको २१ औं संस्करण रुसमा जारी छ । रिस विश्वकपमा अहिले समूह चरण अन्तर्गतको दोस्रो चरणको खेलहरु जारी छ ।
रुस विश्वकपको समूह चरणको खेलहरु नसकिदै गोल्डेन बुट कसले जित्छ ? भनेर बजारमा अड्कलबाजी सुरु भएको छ । रुसमा विश्वकपमा अहिले ३२ राष्ट्रका ७३६ खेलाडी मैदानमा रहेका छन् । जसमध्ये सर्वाधिक गोलकर्ता खेलाडीले गोल्डेन बुट प्राप्त गर्ने छन् ।
समूह चरणको खेल जारी रहदा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो गोल्डेन बुटको दाबेदार देखिएका छन् । रोनाल्डोले दुई खेलमा ४ गोल गर्दै आफुलाई गोल्डेन बुट दाबेदार प्रमाणित गरिसकेका छन् । क्लब फुटबलमा गोल्डेन बुट जितिसकेका रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक र मोरक्कोविरुद्ध एक गोल गरेका थिए । पोर्चुगल प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो हरेको कारण रोनाल्डोको गोल संख्या बढ्ने अनुमान गरिएको छ ।
गोल्डेन बुटका लागि रोनाल्डोलाई रुसका डेनिस चेरीशेभले पछ्याईरहेका छन् । पहिलो खेलमा साउदी अरेबियाविरुद्ध २ र इजिप्टविरुद्ध एक गोल गरेका चेरीशेभले ३ गोल गरेका छन् । रुस अन्तिम १६ मा प्रवेश गरिसकेको कारण उनको गोल बढ्ने सम्भावना रहेको छ ।
यस्तै स्पेनका डिएगो कोष्टा पनि गोल्डेनबुट दाबेदार खेलाडी हुन् । हालसम्म उनले ३ गोल गर्दै आफुलाई गोल्डेनबुटको दाबेदार बनाएका छन् । कोष्टाले पोर्चुगलविरुद्ध २ र इरानविरुद्ध एक गोल गरेका थिए ।
यो पटक रुसका अर्टेम ड्युबा, बेल्जियमका रोमेरो लुकाकु, इंग्ल्यान्डक ह्यारी केन, नाइजेरियाका अहमेद मुसा, क्रोएसियाका लुका मोड्रिक, ब्राजिलका फिलिपे कौटिन्होले हालसम्म दुई गोल गर्दै गोल्डेन बुट जित्ने सम्भावना कायम राखेका छन् । जारी विश्वकपमा अहिलसम्म थप ३२ खेलाडीले एक - एक गोल गरेका छन् ।