एजेन्सी । इन्ग्लिश मिडफिल्डर डेली अलीले विश्वकप अन्तर्गत पानामाविरुद्धको खेल गुमाउने भएका छन् । तिघ्रामा चोट बोकेका अलीले आइतबार हुने खेल गुमाउने भएका हुन् ।
चोटका कारण अली इन्ग्लिश टोलीको अभ्यासमा समेत उपस्थित नभएको बिबिसीले जनाएको छ । इन्ग्लिश टोलीका फिजियोले अलीको खेलमा सम्भावना निकै कम रहेको बताएका छन् । टोटनह्यामका २२ बर्षीय मिडफिल्डर अलीले गत सोमबार ट्युनिसियाविरुद्धको खेलमा चोट बोकेका थिए । उक्त खेल इंग्ल्यान्डले २ - १ ले जितेको थियो । इंग्ल्यान्डको जितमा दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए ।
विश्वकपमा डेब्यु टोली पानामाविरुद्ध इंग्ल्यान्डले अलीको स्थानमा अर्का युवा खेलाडी रुबेन लोफ्टसलाई मौका दिने बताइएको छ ।
विश्वकपको समूह 'जी' मा रहेको इंग्ल्यान्डको ३ अंक छ । यो समूहमा बेल्जियमको पनि ३ अंक छ । पानामा र ट्युनिसिया अंक बिहिन रहेका छन् ।