एजेन्सी । फिफा विश्वकप फुटबलमा स्विजरल्याण्डले पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सर्बियालाई २ - १ ले हराउदै स्विजरल्याण्डले पहिलो जित निकालेको हो।
केलीनग्राड स्टेडियमा एक गोलले पछि परेको स्थिति उल्टाएर स्विजरल्याण्डले जित निकालेको हो । स्विजरल्याण्डको जितमा ग्रानिट जाका र जाड्रन साकिरीले एक एक गोल गरे । सर्बियाका एलेक्सान्डर मिट्रोभिकले एक गोल गरे ।
पहिलो हाफको पाँचौ मिनेटमा मिट्रोभिकले गोल गर्दै सर्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा जाकाले गोल गर्दै स्विजरल्याण्डलाई खेलमा फर्काए । त्यसपछि खेलको ९० औं मिनेटमा साकिरीले गोल गर्दै स्विजरल्याण्डलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै समूह 'ई' को स्विजरल्याण्डले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । यो समूहमा स्विजरल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । सर्बियाको ३ अंक छ । यो समूहमा ब्राजिलको ४ अंक नै छ । अंकबिहिन रहेको कोष्टारिका समूह चरणबाटै बाहिरिएको छ ।
यो समूहमा अब स्विजरल्याण्डले कोष्टारिका र सर्बियाले ब्राजिलसँग खेल्ने छ ।