एजेन्सी । फिफा विश्वकप फुटबलमा नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा अफ्रिकी मुलुक नाइजेरियाले युरोपियन राष्ट्र आइसल्याण्डलाई २ - ० ले हराएको हो ।
भोल्गोग्राड स्टेडियमा भएको खेलमा नाइजेरियाको जितमा दुवै गोल अहमेद मुसाले गरे । मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा मुसाले दोस्रो गोल गर्दै नाइजेरियालाई २ - ० को अग्रता दिलाएका हुन् ।
यता, आइसल्याण्डले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएको थियो । खेलको ८३ औं मिनेटमा गिल्फी सिगार्डसनले पेनाल्टीमा गोल गर्न सकेनन् । नाइजेरियाका इबुईले आइसल्याण्डका अल्फ्रेडलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले आइसल्याण्डले पेनाल्टी पाएको थियो । तर, सिगार्डसनको प्रहार आकासिएको थियो ।
यो जितसँगै समूह डी मा नाइजेरियाले २ खेलबाट ३ अंक जोडेको छ । र, नाइजेरियाले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । यो समूहबाट क्रोएसियाले अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ । अब अन्तिम चरणको खेलपछि नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिना मध्ये एक टोलीले अन्तिम १६ मा स्थान बनाउने छन् ।
आइसल्याण्डविरुद्ध नाइजेरियाले निकालेको २ - ० को जितले अर्जेन्टिनालाई भने फाइदा पुगेको छ । यो खेलमा नाइजेरिया हारेको खण्डमा अर्जेन्टिनाको दोस्रो चरण यात्रा निकै कमजोर हुने थियो ।
यो समूहमा तेस्रो स्थानको आइसल्याण्ड र अन्तिमको अर्जेन्टिनाको समान १ - १ अंक छ । शीर्ष स्थानको क्रोएसियाको ६ अंक छ । अब नाइजेरियाले अन्तिम खेलमा अर्जेन्टिनासँग खेल्ने छ । उक्त खेलमा जित निकाले नाइजेरियाले अन्तिम १६ मा स्थान बनाउने छ । बराबरी खेले क्रोएसिया र आइसल्याण्डबीचको खेलको नतिजामा भर पर्नु पर्ने हुन्छ ।
यस्तै अन्तिम खेलमा नाइजेरिया पराजित भए र क्रोएसियाले आइसल्याण्डलाई हराएमा अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । नाइजेरिया पराजित भएर आइसल्याण्डले क्रोएसियालाई हराएमा अर्जेन्टिनाले अर्को चरणको यात्रा हेड टु हेडको आधारमा हुनेछ ।