एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत आइसल्याण्डविरुद्धको खेलमा नाइजेरियाले २ - ० को अग्रता बनाएको छ ।
भोल्गोग्राड स्टेडियमा नाइजेरियाका लागि दुवै गोल अहमेद मुसाले गरे । मुसाले खेलको ४९ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा मुसाले दोस्रो गोल गर्दै नाइजेरियालाई २ - ० को अग्रता दिलाएका हुन् ।
यता, आइसल्याण्डले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएको छ । खेलको ८३ औं मिनेटमा गिल्फी सिगार्डसनले पेनाल्टीमा गोल गर्न सकेनन् । नाइजेरियाका इबुईले आइसल्याण्डका अल्फ्रेडलाई लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले आइसल्याण्डले पेनाल्टी पाएको थियो । तर, सिगार्डसनको प्रहार आकासिएको थियो ।
यसअघि पहिलो हाफमा दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरीमा सकिएको थियो । आइसल्याण्डविरुद्ध नाइजेरियाले बनाएको २ - ० को अग्रताले भने अर्जेन्टिनालाई फाइदा पुगेको छ । यो खेलमा नाइजेरिया हारेको खण्डमा अर्जेन्टिना समूह चरणबाट बाहिरिने छ । यो खेल नाइजेरियाले जितेमा अर्जेन्टिनाको दोस्रो चरण पुग्ने सम्भावना जीवितै रहने छ ।
यो समूहमा नाइजेरिया अंकबिहिन रहदै पुछारमा छ । आजको खेलमा अंक सुधार नगरे नाइजेरियाको दोस्रो चरणको यात्रा समाप्त हुनेछ ।
आइसल्याण्डको १ अंक छ । आजको खेल जित्दै आइसल्याण्ड पनि दोस्रो चरणमा पुग्न चाहन्छ ।