काठमाडौं । खेलकुदमन्त्री डिग बहादुर लिम्बुले धुर्मुस सुन्तली क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्नका लागि १ लाख बिनियोजन गरिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री लिम्बुले उक्त रंगशाला निर्माणको बाँकी काम पूरा गर्न सरकारले स्वामित्व ग्रहण गर्ने र त्यसपछि आवश्यक स्रोत जुटाएर रंगशालालाई सम्पन्न गर्ने बताए ।
उनले एक स्थानीय तह एक खेलकुद पूर्वाधार कार्यक्रम अन्तर्गत १७० स्थानीय तहमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको जिकिर गरे । त्यस्तै ७ सय ५३ वटै स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्प प्रतियोगीता गर्न बजेटको व्यवस्था गरिएको उनलेले जानकारी दिनुभयो ।
मन्त्री लिम्बुले खेलाडीहरुको बृत्तिबिकास गर्दै बिभिन्न प्रतियोगीतामा भाग लिने वातावरण बनाउने बताए । चीनको होङझावमा सेप्टेम्वर २३ देखि अक्टुबर ८ सम्म हुने एसियाली खेलकुदका लागि २९ खेलका लागि २३३ खेलाडीहरुको बन्द प्रशिक्षण भइरहेको मन्त्री लिम्बुले जानकारी दिए ।
मन्त्री लिम्बुले राखेपलाई खेल क्षेत्रको बिकासका लागि जवाफदेही काम गर्ने गरि पूर्णरुपमा जिम्मेवारी दिने र खेलको पूर्वाधार निर्माणका लागि मन्त्रालयले नै आवश्यक योजना बनाउने गरि काम अघि बढेको बताए ।