काठमाडौं । ओलम्पिक दिवसका अवरमा शुक्रबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको हलमा विविध कार्यक्रम आयोजना गरियो ।
बक्सिङ, फेन्सिङ, तेक्वान्दो, उसु, जुडो र करातेका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए भने विभिन्न विद्यालयका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा नेपालबाट विभिन्न संस्करणको ओलम्पिकमा सहभागिता जनाएका ओलम्पियनलाई सम्मान पनि गरिएको थियो ।
त्यसअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा झण्डोतोलन गरेका थिए भने उपाध्यक्ष ज्योति राणाले ओलम्पिक झण्डा झण्डोतोलन गरेकी थिइन् ।
त्यसअघि ओलम्पिक दिवसकै अवसरमा एनओसीको तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसन, एनओसीको सक्रियतामा देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको थियो । कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक दिवस सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।