पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रका लागि ७ करोड ५५ लाख बजेट विनियोजन गरेको छ ।
आर्थिक बर्ष २०८०÷८१ का लागि शुक्रबार ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रको रुपमा विकास गर्नका लागि अन्तर्राष्ट्रियस्तरको कभर्डहलको सम्भाव्यता अध्ययन, क्रिकेट रंगशाला, एक स्थानीय तह एक खेलमैदान, जिल्ला स्तरमा रंगशाला र खेलमैदान निर्माणका लागि ७ करोड ५५ लाख विनियोजन गरिएको बताए ।
‘खेल्छ गण्डकी’ कार्यक्रमलाई निरन्तरता दिँदै सबैका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद विकासका लागि विद्यालय तहदेखि नै खेलकुद गतिविधि सञ्चालन प्रतिस्पर्धी खेलाडी उत्पादन गरिने छ । खेलाडीको पहिचान र आम सम्मानका लागि गण्डकी खेलकुद पदक, खेलाडी कल्याणकारी कार्यक्रम र खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरिएको छ ।
ओलम्पिक खेल प्रतियोगितामा भाग लिएका गण्डकी प्रदेशका खेलाडीलाई उच्च सम्मान गर्दै प्रोत्साहन बापत भक्ता उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको आर्थिक मामिलामन्त्री आलेले बताए ।