झापा । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् ।
बिर्तामोडमा शनिबार भएको मञ्चको जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति गठन गरेको हो ।
नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकअघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् ।
आँगन एफएमका प्रवन्ध निर्देशक समेत रहेका मुखियाको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि खेलकुद पत्रकार मञ्चको नेतृत्व छानिएको हो । यसअघि पत्रकार हिमाल खरेलको नेतृत्वमा रहेको खेलकुद पत्रकार मञ्चले जिल्लामा आफ्नो उपस्थिति र भूमिकालाई निकै प्रभावकारी बनाएको थियो । झापामा आयोजना गरिएका साना ठूला प्रतियोगितामा खेलकुद पत्रकार मञ्चको समन्वय र सहभागिता अनिवार्य भएको थियो ।
मञ्चको उपाध्यक्षमा प्रेम आचार्य र सचिवमा चीरञ्जीवि घिमिरे छन् । व्लाष्टकर्मी आचार्य झापाका पुराना पत्रकार हुन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आबद्ध छन् । सहसचिव र कोषाध्यक्षमा क्रमश भूमिका सुब्वा र प्रकाश बानियाँलाई चयन गरिएको छ ।
सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योन्जन, नारायण अर्याल र आयुष निरौला छन् ।
भगीरथ आले मामा नेतृत्वको निर्वाचन समितिले निर्वाचित पदाधिकारी तथा सदस्यकको नाम घोषणा गरेको हो । मञ्चले खेलकुद विधामा पत्रकारिता गर्दै आएका झापाली सञ्चारकर्मीलाई प्रशिक्षण प्रदान गर्नुका साथै स्पोटर्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
खेल क्षेत्रको सर्वाधिक लोकप्रिय र धनराशि पुरस्कारसहितको स्पोटर्स अवार्डमार्फत पदक प्राप्त खेलाडी तथा अफिसियललाई मञ्चले सम्मान गर्दै आएको छ । मञ्च झापाले यसअघि चारवटा संस्करणको झापा स्पोटर्स अवार्ड कार्यक्रम सम्पन्न गरिसकेको छ ।
पाँचौँ झापा स्पोटर्स अवार्ड नवनिर्वाचित समितिले मिति घोषणा गरेर आयोजना गर्नेछ ।
यसअघि कोशी प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष जीना कार्कीले अधिवेशनको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रज्वल ओली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, झापा जिल्ला उसु संघका अध्यक्ष राजेन्द्र घिमिरे नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।