काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक 'बी' डिभिजन लिग क्लबबीच आज बुधबार छलफल हुँदैछ ।
एन्फाले 'बी' लिगको बारेमा छलफल गर्न क्लबहरुलाई डाकेको हो । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे एन्फा र क्लबबीच छलफल हुनेछ ।
'बी' लिग तोकिएको समयमा नहुँदा एन्फाको आलोचना भईरहेको छ । यस अघि एन्फाले चैत २९ गतेलाई 'बी' डिभिजन लिगको मिति तोकेको थियो । तर आर्थिक अभावको कारण देखाउँदै एन्फाले आफुलेनै तोकेको मिति लिग सञ्चालन गर्न सकेन । एन्फाले 'बी' लिगको नयाँ मिति घोषणा गरेको छैन ।
'बी' लिगको आयोजनाको अनिश्चिततालाई लिएर क्लबहरुले विरोध प्रर्दशन गरिएको छ । आईतबार ललितपुरको च्यासल मैदानमा संकटा र एपीएफको खेलको दौरान 'बी' लिग क्लबका पदाधिकारी र फुटबल समर्थकले सांकेतिक विरोध प्रर्दशन गरेका थिए ।
यस्तै लिगको तयारी खर्च नपाएको भन्दै 'बी' क्लबहरुले एन्फाको ध्यानाकर्षण गराएको थियो । एन्फाले 'बी' लिग निर्धारित मितिमा गर्न नसकेपछि क्लबहरुले तयारी वापतको क्षतिपूर्ति पाउनुपर्ने माग सहित एन्फामा निवेदन दर्ता समेत गराएको थियो ।