फिफा विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा ब्राजिल र कोष्टारिका मैदान उत्रदै छन् । सेन्ट पिटर्सवर्ग स्टेडियममा पौने सात बजे दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदै छन् ।
आजको खेल दुवैको लागि महत्वपूर्ण रहेको छ । किनकि पहिलो खेलमा दुवैको नतिजा अनुकुल छैन । ब्राजिल पहिलो खेलमा स्विजरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । कोष्टारिका भने सर्बियासँग १-० ले पराजित भएको थियो । त्यसैले आज हुने खेल जित्दै दुवै टोली नकआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ ।
दुई टोलीबीचको खेलमा मुख्य त् फिलिपे कौटिन्हो र जोहन भेनेगास चर्चामा रहने छन् । ब्राजिलियन कौटिन्होको प्लेमेकर भूमिकाले ब्राजिलको खेलमा महत्वपूर्ण अर्थ लाग्ने छ । यस्तै भेनेगासले उच्च प्रदर्शन गरे ब्राजिलियन डिफेन्स चिर्न कोष्टारिकालाई गाह्रो हुने छैन ।
प्लेयर्स टु वाच
फिलिपे कौटिन्हो ( ब्राजिल )

ब्राजिलियन टोलीमा नेयमारको भूमिका जति छ त्यो भन्दा बढी भूमिका कौटिन्होसँग हुनेछ । ब्राजिलियन प्लेमेकर कौटिन्हो फरवार्डलाई बल उपलब्ध गराउन जति माहिर छन् त्यतिनै माहिर छन् गोल गर्न । त्यसैले कोष्टारिकाविरुद्ध मैदान उत्रदा ब्राजिलियन टोलीका महत्वपूर्ण सदस्य हुनेछन् कोटिन्हो ।
विश्वकपको पहिलो खेलमा एक गोल गरेका कौटिन्होले पुरै समय बिताएका थिए । २६ बर्षिय यी होचा कदका प्लेमेकर कौटिन्हो लामा सट खेल्न, सिधा फ्रिकिक प्रहार गर्न र हावामा रहेको बल आफ्नो नियन्त्रणमा राख्न माहिर मानिन्छन् ।
ब्यवसायीक फुटबल स्पेनिस महारथी बार्सिलोनाबाट खेल्ने कौटिन्हो मिडफिल्डमा खेल्ने गर्छन् । यो सिजन लिभरपुलबाट बार्सिलोना आएका उनले १८ खेल खेल्दै ८ गोल गरेर ५ गोलको लागि पास सिर्जना गरेका थिए । विश्वकप छनोटमा कोटिन्होले १३ खेल खेल्दै ४ गोल गरेका थिए ।
जोहन भेनेगास ( कोष्टारिका )

ब्राजिली टोलीसँग मैदान उत्रदा कोष्टारिकाले जोहन भनेगासलाई मुख्य हतियार बनाउने छन् । राष्ट्रिय टोलीबाट अन्तिम विश्वकप् खेलिरहेका भनेगासले जादुगयी प्रदर्शन गरेमा ब्राजिललाई हराउन कोष्टारिकालाई समस्या पर्नेछैन ।
२९ बर्षिय यी मिडफिल्डर बल नियन्त्रण गर्न, अग्रपंक्तिका खेलाडीलाई सजिलै बल निकाल्न र लामा सट प्रहार गर्नमा माहिर मानिन्छन् । घरेलु लिग क्लब डिपोर्टिभो सप्रिसबाट खेल्ने उनले यो सिजन २२ खेल खेल्दै २ गोल गरेका थिए । विश्वकप छनोटमा १०खेल खेल्दै उनले ३ गोल गरेका थिए ।
युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडलाई लगातार तीन उपाधि दिलाएका गोलकिपर केलर नाभासको राम्रो साथ पाएको कोष्टारिकालाई भेनेगासको साथले निकै मजबुद बनाएको छ ।