काठमाडौं । 'बी' डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिगलाई अन्योलतामा राखेको आरोप लगाएका छन् ।
'बी' डिभिजन क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै एन्फाले 'बी' लिगलाई अन्योलतामा राखेको जनाएको छ ।
'कोभिडको लहरपछि थलिएको अर्थतन्त्रले आर्थिक रुपमा कठिन अवस्था भोगिरहेको परिवेशमा लिग हुने वातावरण नदेख्दा हामी चिन्तित भएका छौं । अब के गर्ने, कहिले सम्म अन्योलमा बसिरहने, लिग नहुने हो भने ट्रेनिङ जारी राख्ने वा रोक्ने, एन्फाले नै जसरी पनि लिग गर्ने हो भनेर गरेको खर्च लिग भएन भने क्षतिपुर्ति कहिले दिन भन्ने जटिल अवस्था सिर्जना भएको छ,' 'बी' लिग क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एन्फाले चैतको १५ गतेबाट 'बी' डिभिजन लिग गर्ने निर्णय गरेको थियो । तर, एन्फाले क्लबलाई दिने भनिएको तयारी खर्च दिन सकेको छैन ।
एन्फाले सहमति अनुसार कार्य नगरेको र लिग हचुवाको भरमा गर्न लागेको क्लबहरुले आरोप लगाएका छन् ।
'पहिलो किस्ता उपलब्ध गराएपछि टिम तयारीको लागि ४५ दिनको समय दिने आश्वासन पछि सहमति भएको 'बी' डिभिजन लिगका अन्य आवश्यक तयारी भएको छ वा छैन, प्रश्न जटिल छ । फुटबलको मेरुदण्ड मानिने लिग हचुवाको भरमा हुन सक्दैन,' विज्ञप्तिमा उल्लेख गरिएको छ, 'एन्फाको आश्वासन पछि पुसको अन्तिम साताबाट टिम तयारीमा भिडेका क्लबहरुले खेलाडीको खुराक, आतेजाते भाडा, मोफसलका खेलाडीलाई खानेबस्ने व्यवस्था, मेडिकल, खेल सामाग्री एवं फ्रेन्डली म्याच गरेर दैनिक ठुलो रकम खर्च गरिरहेका छन् ।'
यस्तै 'बी' डिभिजन क्लबले एन्फाको पछिल्ला गतिविधीका कारण शंका गर्नुपर्ने अवस्था सिर्जना भएको र 'बी' डिभिजन लिग गर्ने स्पष्ट मार्गचित्र नबनेको, तयारी चित्त बुझ्दो नभएको भन्दै आफुहरु चिन्तित भएको बताएका छन् ।