काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुवान्डामा आयोजना हुने फिफा कंग्रेसमा उपाध्यक्ष विराटजंग शाहीको स्थानमा सदस्य मणिराज विष्टलाई पठाएको छ ।
एन्फाले बिना जानकारी शाहीको स्थानमा विष्टलाई फिफा कंग्रेसमा सहभागिता गराएको हो ।
सुरुआतमा एन्फाले अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई र उपाध्यक्ष शाहीको नाम पठाएको थियो । तीनै जनाको टिकट समेत आएको थियो । तर, एन्फाले अन्तिम समयमा शाहीको नाम हटाउँदै विष्टलाई कंग्रेसमा सहभागिता गराएको हो ।
उपाध्यक्ष शाहीले सोमबार सामाजिक संजालबाट आफ्नो स्थानमा अर्कैलाई फिफा कंग्रेसमा पठाएको बताएका छन् ।
शाहीले आफु एयरपोर्ट पुगेपछि आफ्नो नाम हटाएको जानकारी पाएको लेखेका छन् । शाहीले ४० वर्ष फुटबलमा लाग्दा पहिलो पटक आफु अपमानित भएको लेखेका छन् ।
'करिब ४० वर्ष इमान्दारी पूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्यो । त्यसको लागि एन्फा अध्यक्ष ज्यूलाई धेरै धेरै धन्यवाद,' उनले लेखेका छन् , 'फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो। जस अनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरे। फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए । आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए। काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ ।'
शाहीको पोस्ट -
करिब ४० बर्ष इमान्दारी पूर्वक फुटबलमा गरेको योगदान र तपाईलाई अध्यक्ष बनाउन गरेको महत्वपूर्ण सहयोग गरेको बापतमा आज जीवनमै सबैभन्दा ठूलो अपमानित हुनु पर्यो।
त्यसको लागि एन्फा अध्यक्ष ज्यू लाई धेरै धेरै धन्यवाद ।
फुटबलसग आबद्ध भएका सबै साथीहरूको जानकारीको लागि।
फिफा कंग्रेसमा जानको लागि अध्यक्ष, महासचिव र मेरो नाम पठाएको थियो।
जस अनुसार मेरो नाममा टिकट र भिसा पनि आयो र जाने तयारी पनि गरे।
फिफा प्रतिनिधीको तर्फबाट फुटबल खेल्ने फारममा पनि हस्ताक्षर गरेर पठाएको थिए।
आज घरबाट श्रीमती र घरपरिवारबाट बिदा भई एयरपोर्ट गए।
Checking काउन्टरमा गएपछि थाहा पाए मेरो नाम त हटाइसकिएको रहेछ।
हटाउनु थियो भने पनि कमसेकम मलाई जानकारी गराएको भए यस किसिमको अपमानित हुनुपर्ने थिएन।
घरबाट बिदाबारी भएर गैसकेको व्यक्तिले घरमा गएर के भन्ने।?
वर्तमान अध्यक्षलाई चुनाव जिताउन मैले के मात्र गरिन होला।
अर्को पक्षबाट समेत वरिष्ठ उपाध्यक्षमा लड्न अफर आएको र आफ्नै टिममा पनि सबैले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्नुपर्छ भनि ठूलो दबाब भएतापनि टिम र अध्यक्षलाइ अप्ठ्यारो पर्ला भनी हालका वरिष्ठ उपाध्यक्ष म भन्दा जुनियर भएतापनि उपाध्यक्ष मा लडेर गरेको बलिदानको बापतमा जीवनमै सबैभन्दा ठूलो अपमानित भए।
एन्फा अध्यक्ष ज्यू
एन्फा तपाईको व्यक्तिगत कम्पनी र बिर्ता होइन।
मलाई फिफा कंग्रेसमा लगेर तपाईले गर्नुभएका सबै अबैधानिक र अनियमितताको कार्यहरु आखा चिम्लिएर सहयोग गर्ला भनेर मेरो नाम राख्नु भएको थियो होला।
मैले खेलकुदमा आजीवन इमानदारीपूर्वक काम गरेको सबैलाई थाहा छ।
फिफा कंग्रेसमा नाम राखिसकेपछि पनि मैले एन्फामा भएका अवैधानिक कार्यहरु र आर्थिक अनियमितताको विषयमा मैले विभिन्न बैठकमा समर्थन नगरेपछि मेरो नाम काटिएको हो भने यसमा म आफूलाई गर्व महसुस गर्दछु।
विराट शाहा लाइ विदेश लगेर पनि
तपाईंले गरेका अबैधानिक र अनियमितताको आखा चिम्लिएर हो मा हो मिलाउने म परिन।
मेरो नाम काटेर कुन व्यक्ति जानु भएको छ मलाई जानकारी छैन।
जो जानु भएको छ उहाले भविष्यमा कस्तो भूमिका खेल्नु हुन्छ प्रतिक्षाको विषय रहेको छ।
जुन अपमान आज मैले भोग्नुपरेको छ। जब अन्य साथीहरुले पनि ढिलोचाडो यस्तै अपमान सहनु पर्यो भने थाहा हुन्छ। अहिले मैले कस्तो पीडा भोगिरहेको छु भनेर।
के कति कारणले मेरो नाम काटियो यसको जवाफ अध्यक्षले कार्यसमितिको बैठकमा र साधारण सभामा जवाफ दिनुपर्नेछ।
अध्यक्ष को यो निर्णयले आज के प्रष्ट भयो भने जतिसुकै अवैधानिक कार्यको समर्थन गर्ने वा अवैधानिक कार्यको बिरोध गर्दा मैले जस्तै अपमान सहनु पर्ने हुन्छ ।
अन्तमा फुटबलसग आबद्ध सबैसग के अनुरोध गर्न चाहन्छु भने विदेश जानु ठूलो कुरा होइन।
जुन तरिकाले म अपमानित भएको छु अन्य साथीहरूले यस किसिमको अपमानित हुनु नपरोस।
यस्ता किसिमको गलत कार्यको हरेक तहबाट सबैको सहयोग र सदभावको आशा राखेको छु।
जय भकुण्डो जय नेपाली फुटबल