दान बहादुर तामाङ र मायादेबी मोक्तानलाई स्पेशल अवार्ड

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गतको स्पेशल अवार्ड दान बहादुर तामाङ र मायादेबी मोक्तानलाई प्रदान गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा दान र मायादेबीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।
दान र माया ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेबी तामाङ र नङशल देबी तामाङका बुबा आमा हुन् ।
स्पेशल अवार्डसँगै उनीहरुले नगद ५० हजार प्राप्त गरे ।
स्पेशल अवार्ड किन ?
नेपालमा अझै पनि थोरै अभिभावकहरु मात्र त्यस्ता छन्, जो आफ्ना छोराछोरीलाई आफैले दोहोर्याएर खेल मैदानसम्म पुर्याउछन्।
भोजपुर बजारका दानबहादुरले त आफैले खेल मैदान आफैले बनाए, आफैले प्रशिक्षण दिए र छोराछोरीलाई नेपालका चर्चित च्याम्पियन बनाए।
त्यतिमात्र होइन भोजपुरलाई नै ब्याडमिन्टन खेलाडि उत्पादन हुने ठाँउको रुपमा नै परिचित गराए।
शुरु शुरुमा मा जब उनी आफ्ना कलिला नानीहरुलाई खेलाउँन लैजान्थे, गाँउलेहरु '' यो दानबहादुरले छोराछोरी बिगार्ने भए " भनि जिस्काउँथे।
दानबहादुर ब्याडमिन्टनमा बेस्सरी डुब्नुमा विशेष घटना छ। एउटा इखालु घटना।
विराटनगरमा खेल्न जाँदा ''इन्डोर हल नभएको ठाँउका खेलाडि कसरी खेल्छन्'' भनेर उनलाई एकजना वरिष्ठ प्रशिक्षकले नमज्जाले जिस्काएछन ।
इख बोकेर भोजपुर फर्किएका दानबहादुरले त्यसपछि भयंकर मेहनत गरे। इन्डोर हल नभएपनि छोराछोरीलाई राम्रो खेलाडी बनाउने प्रण लिए। दिनरात नभनी लागे। आफु प्रशिक्षक थिएनन् तर त्यो कला सिके।
परिणाम, अर्को खेलमा विराटनगर पुग्दा सरादेबीले अन्तर्राष्ट्रिय खेलाडी भनिएका प्रतिद्धन्दीला शुन्यमा पराजित गरिदिइन्।
त्यहाँबाट शुरु भएको जितको सिलसिला सरादेबी, रत्नजित हुंदै नङशलदेबी तामाङ सम्म जारी रह्यो। एकताका राष्ट्रिय टिममा पर्ने खेलाडिहरुको संख्या ६ जनासम्म पुगेका थिए।
यो सजिलो काम थिएन। तीन दशक लामो यो अभियानमा शिक्षक पेशाका दानबहादुरले आफ्नो सबै तलब स्वाहा पारे। ब्याडमिन्टनमा खर्च पनि टन्न हुने। १२ वर्ष त भोजपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष नै बनेर सेवा गरे।
यदयपी सपना पाल्नु र त्यो पुरा हुनु फरक विषय हो। जो कोहिले आफ्ना सन्तान च्याम्पियन हुन् भन्ने नै सपना देख्छन् । तर सबैको सपना कहाँ पुरा हुन्छ । दानबहादुर दम्पती यस मानेमा भाग्यमानी पनि हुन की छोराछोरीले त्यहि अनुरुप मेहनत गरे।
भोजपुरमा इन्डोर ब्याडमिन्टन कोर्ट बनाउनु दानबहादुरको अर्को उत्कट चाहना थियो। इन्डोर हल बनाउन उनले आफ्नो जग्गा दान गर्ने घोषणा नै गरेका थिए। दुईवर्ष अगाडि ३ वटा कोर्ट भएको ब्याडमिन्टन कोर्ट बनेपछि उनको अर्को सपना पनि पूरा भयो।
दानबहादुर दम्पती अब खुशी छन्। शिक्षण पेशाबाट रिटायर्ड भइसकेका उनी अहिले पनि भेट्रान्स ब्याडमिन्टन खेल्न देशभरी डुलि हिड्छन्।
हिजो "छोराछोरी विगारे" भन्ने गाँउलेहरु अहिले उनको सफलता देखेर छक्क पर्छन्।
छोराछोरीलाई राम्रो खेलाडी बनाउने सपना देख्नेहरु अरु पनि छन्। तर दानबहादुर-मायादेबी दम्पतीको योगदान भने अरु भन्दा अलग छ, स्पेशल छ।
यीनै दानबहादुर मायादेबी मोक्तान हुन् नेपाल खेलकुद पत्रकार मञ्चको स्पेशल अवार्ड २०७८ का बिजेता ।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)







