काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताएका छन् ।
ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै मंगलबार प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘खेलकुद क्षेत्रले समाजमा मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्रको महत्त्वपूर्ण भूमिका छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
खेलकुदका माध्यमबाट देशहरुमा राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने पनि प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा पनि गरे ।
प्रधानमन्त्रीले वर्तमान सरकारको तर्फबाट देशका सबै प्रदेशमा र स्थानीय तहमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए ।
'अहिले नेपाल सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्ने सन्दर्भमा हामीले नीति, योजना र कार्यक्रम बनाएका छौँ,' प्रधानमन्त्रीले भने, 'खेलकूदका माध्यमद्वारा सिङ्गै राष्ट्र पनि सबल रूपमा अघि बढ्ने आधार निर्माण हुने कुरा हो । यो क्षेत्रमा विगतमा बजेटको व्यवस्था निकै कम हुने गरेको छ, आउने बजेटमा यो क्षेत्रमा पहिलेभन्दा गुणात्मक रूपले बढी बजेट राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।'