काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पाँच जना केन्द्रिय कार्यसमिति सदस्यसँग स्पष्टीकरण सोध्ने भएको छ ।
सुर्खेतको विरेन्द्रनगरमा बसेको क्यानको वार्षिक साधारणसभाले विधानविपरित संघविरुद्ध कार्य गरेको भन्दै पाँच केन्द्रिय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
क्यानले केन्द्रीय सदस्य संजयराज सिंह, ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, अमितवीर पाण्डेलाई स्पष्टीकरण सोध्ने भएको हो ।
उनीहरुबाट स्पष्टीकरण चित्त बुझ्दो नआएमा निलम्वन समेतको कारबाही गर्न केन्द्रिय समितिलाई साधारणसभाले निर्देशन दिएको छ ।
'नेपाल क्रिकेट संघका निर्वाचित केन्द्रीय सदस्यहरु श्री संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गई संघलाई नै बदनाम र निलम्वन गराउने उद्देश्यले गरिराखेको विभिन्न क्रियाकलापहरुप्रति यो साधारणसभा खेद प्रकट गर्दछ । कार्यसमिति सदस्यहरुले विधानमा तोकिए बमोजिम काम, कर्तव्य र अधिकार विपरित कार्यसमिति बैठकमा उपस्थित हुने साथै नेपाल क्रिकेट संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामा समेत उपस्थित नभएर गम्भीर त्रुटी गरेको यो साधारणसभा ठहर गर्दछ ,' विज्ञप्तिमा भनिएको छ, 'तसर्थ निजहरुलाई अविलम्व स्पष्टीकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा निलम्वन समेतको कारवाही गर्न यो साधारणसभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ ।'
पोखरामा बसेको क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा माग गरेका थिए । ७ केन्द्रिय सदस्यले बैठक समेत बहिस्कार गरेका थिए ।
यस्तै बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले नेपाल क्रिकेट संघको कार्यसमितिलाई निलम्वन गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएको प्रमाण संघलाई प्राप्त भएकोले सो सम्वन्धमा निजलाई समेत स्पष्टीकरण सोध्ने साधारणसभाले निर्णय गरेको छ ।
त्यस्तै काठमाडौं जिल्ला क्रिकेट संघले केन्द्रीय कार्यसमितिको निर्देशनको उलंघन गर्दै केन्द्रीय साधारणसभामा प्रतिनिधिनै नपठाएकाले काठमाडौं जिल्ला क्रिकेट संघलाई समेत स्पष्टिकरण सोध्न निर्णय गरेको छ ।