काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
सुर्खेतको विरेन्द्रनगरमा बसेको क्यानको वार्षिक साधारणसभाले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि ब्यवसायीक र रणनीतिक साझेदारको रुपमा सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको थियो ।
तर, सेभेन थ्री स्पोर्ट्सले सम्झौता अनुसारको काम नगरेको र कम्पनीका संचालक स्पट फिक्सिङमा संग्लग्न भएकोमा अभियोगपत्र दर्ता भएकाले सम्झौता रद्द गर्ने निर्णय गरेको क्यानले जनाएको छ ।
साधारणसभाले सेभेन थ्री स्पोर्ट्सबाट भुक्तानी गर्न बाँकी रकम असुल्न कानुनी प्रक्रिया अघि बढाउन केन्द्रिय कार्यसमितिलाई जिम्मेवारी समेत दिएको छ ।
'नेपाल टी - २० लिग आयोजना सम्वन्धमा नेपाल क्रिकेट संघ र भारतीय कम्पनी सेभेन थ्री स्पोट्र्स प्रा.लि.का बीच आठ संस्करणको सम्झौता भई लिगको पहिलो संस्करण मिति २०७९ पुस ९ गतेदेखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भइसकेको तर, लिगका कर्मसीयल र रणनीतिक साझेदार सेभेन - थ्री स्पोट्र्स प्रा.लि.ले मिति २०७९ पुस ७ गते नेपाल क्रिकेट संघसँग भएको दोस्रो संशोधित सम्झौता बमोजिम कार्य नगरेको साथै स्पट फिक्सिङमासमेत निज कम्पनीका सञ्चालक जतिन आहलुवालीया र सिइओ अभिषेक शकलानी संलग्न भएको भनी मिति २०७९ फागुन ५ मा सम्मानित काठमाडौं जिल्ला अदालतमा समेत अभियोगपत्र दर्ता भएको हुँदा उक्त सेभेन थ्री स्पोट्र्स प्रालिसँग भएको आठ वर्षीय (संस्करण) संझौता रद्द गर्ने निर्णय सर्वसम्मतिले पारित गरियो,' क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'साथै निजले नेपाल क्रिकेट संघलगायतलाई भुक्तानी गर्न बाँकी रहेको वक्र्यौता रकम असुल उपर गर्नका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन केन्द्रीय कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरियो ।'