काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्सबीच आइतबार बीमा सम्झौता भएको छ ।
एन्फाले 'ए' डिभिजन लिगका खेलाडीहरुको दुर्घटना र समूह चिकित्सा बीमाका लागि शिखर इन्स्योरेन्ससँग एक वर्षको सम्झौता गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राई र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक प्रार्थना शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार शिखर इन्स्योरेन्सले खेलाडीको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउने छ ।
यस्तै लिगमा घाइते भएका सुरुआती पाँच खेलाडीलाई ५ लाख र बाँकी खेलाडीलाई १ लाख ५० हजार उपचार खर्च समेत प्रदान गर्नेछ ।
राष्ट्रिय टोलीका खेलाडीको प्रिमियम एन्फाले तिर्नेछ भने बाँकी खेलाडीको प्रिमियम सम्बन्धित क्लबले तिर्नेछन् ।