काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
क्लबहरुलाई दिने तयारी रकम मध्ये पहिलो किस्ताको रकम नआएको भन्दै १४ 'बी' लिग क्लबले एन्फामा ध्यानाकर्षण पत्र बुझाएको हो ।
एन्फाले तयारी खर्च बापत क्लबलाई १४ लाख ५० हजार दिने निर्णय गरेको थियो ।
'उपरोक्त सम्बन्धमा अखिल नेपाल फुटबल संघले यहि मिति २०७९ चैत्र १५ गतेबाट आयोजना गर्न लागेको शहिद स्मारक बी डिभिजन लिग २०७९/८० मा सहभागी हुने १४ वटा बी डिभिजन क्लबहरुलाई दिने तयारी रकम मध्ये पहिलो किस्ता आठ लाख सतरी हजार क्लबहरुको खातामा एन्फाबाट आएपछी मात्र क्लबरुले एन्फामा दर्ता गर्ने जानकारी गर्दछौं,' ध्यानाकर्षण पत्रमा भनिएको छ, 'साथै क्लबहरुले पाउनु पर्ने ०७८/७९ को सहिद स्मारक बी डिभिजन लिगको बाँकि बक्यौता रकम पनि आजका मितिले ३५दिन भित्र क्लबको खातामा आउनु पर्ने अन्यथा हामी बी डिभिजनका क्लबहरु यस सिजनको शहिद स्मारक बी डिभिजन फुटबल लिग खेल्नको लागि असमर्थ हुनेछौं भन्ने एन्फाको ध्यानाकर्षण गराउन चाहन्छौं ।'
'बी' डिभिजन लिग चैत १५ गतेबाट हुँदैछ । क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने थियो । तर, तयारी खर्च नपाएपछि क्लबले नाम दर्ता गरेनन् ।
सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले समयमै एन्फाले आर्थिक योजना नबनाउदा समस्या आएको बताए ।
'कार्यक्रम गर्ने भनेर मात्र भएन । बजेटको योजना सहि समयमा बनाउन पर्यो । समयमै बजेट बनाएर अघि बढेको भए समस्या आउने थिएन,' उनले भने ।