काठमाडौं । पोल्याण्डका खेलकुद तथा पर्यटन मन्त्री कामिल बोर्टनिकजुकले ४० देशले पेरिस ओलम्पिक बहिस्कार गर्न सक्ने र ओलम्पिकलाई अर्थहीन बनाउने बताएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले रुस र बेलारुसलाई फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा सहभागिता जनाउन दिने योजना बनाएपछि पोल्याण्डका खेलकुद मन्त्रीको यस्तो टिप्पणी आएको हो ।
पेरिस ओलम्पिक २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुनेछ ।
रुस र बेलारुसलाई सहभागिता जनाउन दिएमा पोल्याण्डले ओलम्पिक बहिस्कार गर्ने जनाएको छ । यस्तै लिथुआनिया, इस्टोनिया र लाटभियाले समेत बहिस्कार गर्ने जनाएको छ ।
युक्रेनले समेत पेरिस ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि रुस र बेलारुसमाथि विश्वकप, युरोकप लगायत ठूला खेलमा प्रतिबन्ध लाग्दै आएको छ । ओलम्पिकमा समेत रुसलाई प्रतिबन्ध गरिएको छ ।
यता, अन्तराष्ट्रिय ओलम्पिक कमिटिले भने बहिस्कारले खेलाडीलाई सजाय हुने बताउदै आएको छ ।