काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णय गलत भएको बताएका छन् ।
नेता थापाले शुक्रबार सामाजिक संजाल फेसबुकबाट बलात्कार जस्तो गम्भीर अभियोगको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले निलम्बन फुकुवा गर्ने गलत निर्णय लिएको बताएका हुन् । उनले क्यानले गलत निर्णय तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।
'एक साता अघि नै यो प्रसङ्ग आउन साथ क्यानका अध्यक्ष(जो नेपाली काँग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ) लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ। उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो। तर त्यसो हुन सकेन।
पुनः दोहोर्याउन चाहन्छु - बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ,तत्काल फिर्ता लिनुपर्छ,' थापाले लेखेका छन् ।
सन्दीप शुक्रबारबाट नेपाली टोलीको बन्द प्रशिक्षणमा सामेल भईसकेका छन् । क्यानले उनको निलम्बन फुकुवा गर्दै प्रशिक्षणमा राखेको हो ।