काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ स्वदेश फर्किएका छन् ।
एन्फा अध्यक्ष नेम्वाङ बिहीबार साँझ स्वदेश फर्किएका हुन् । नेम्वाङलाई एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्य मणिराज विष्ट, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी लगायतले स्वागत गरेका थिए ।
बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।
नेम्वाङ साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।
एएफसीको अध्यक्षमा पुन: शेख सलमान विन अब्राहिम अल खालिफा निर्वाचित भएका छन् ।