काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गर्ने भएको छ ।
राखेपले लामाको अध्यक्षतामा कराँते महासंघको तदर्थ समिति गठन गर्ने तयारी गरेको हो ।
राखेपले बिहीबार लामाको अध्यक्षतामा महासंघको तदर्थ समिति गठन गरिएको जानकारी गराउँदैछ ।
तदर्थ समितिका अन्य पदाधिकारीमा पुरानै तदर्थ समितिका सदस्यहरु रहने छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गर्न लागेको हो ।
राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताका आधारमा विभाजित कराँतेको अवस्था नेपालमा दयनिय छ । संघभित्रको अराजकता र अनियमितताले अन्तराष्ट्रिय रुपमा सफल खेल मध्यको एक कराँते भद्रगोल अवस्थाबाट गुज्रिरहेको छ ।
महासंघले अन्तराष्ट्रिय रुपमा आवश्यक समन्वय र आर्थिक अनुशासन नदेखाउँदा नेपाली खेलाडीले आधिकारिक एसियाली र विश्व च्याम्पियनसिपका प्रतियोगिताबाट खेल्न बञ्चित हुँदै आउनु परेको छ ।
लामा राखेपका पूर्व सदस्य सचिवमात्र नभएर कराँतेका संस्थापक नेतृत्वकर्ता पनि हुन् । उनी कराँतेका पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन् । उनले पहलमा तत्कालिन समयमा ठुलो लगानीमा सातदोबाटोमा कराँतेको प्रशिक्षण हल तयार भएको थियो ।
अन्तराष्ट्रिय रुपमा सफल खेलको परिचय बनाएको कराँते नेपालमा भने सधै विवाद र कुशासनको घेरामा रह्यो । राष्ट्रिय र अन्तराष्ट्रियताको विवादसँगै कराँतेको बेल्ट बेच्नेदेखि विदेशमा मान्छे लगेर छाड्नेसम्मको आरोप कराँतेका पदाधिकारीमाथि लाग्दै आएको छ ।
चार वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको संघको विवाद समाधान तथा समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधानका लागि सहमती गराएको थियो । तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिना नेतृत्वको समितिले शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन गरेको थियो । तर समितिले तीन महिनाभित्र निर्वाचन गर्ने म्यानडेट पाएपनि काम गर्न सकेन । सम्बन्धित संघ विवादमै अल्झिदाँ अन्तराष्ट्रिय रुपमा समेत कराँतेको नतिजा खस्किन सुरु भएको छ।
कराँतेमा नयाँ नेतृत्व ल्याएर खेललाई चलायमान र नतिजामुखी बनाउने उद्धेश्यका साथ राखेपले आन्तरिक गृहकार्य सुरु गरेको हो । नयाँ ऐनको व्यवस्था अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको पुनर्गठनको तयारी थालेको हो ।