काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारीले कतार विश्वकपको टिकट हिनामिनाबारे संचारमाध्यममा आएको समाचारबारे सत्यतथ्य जानकारी दिन माग गर्दै अध्यक्ष पंकज बिक्रम नेम्बाङलाई पत्र लेखेका छन् ।
काम विशेषले आफु देश बाहिर रहेको जानकारी गराउँदै सदस्य अधिकारीले समाचारबारे जानकारी पाउँ भन्दै इमेलमार्फत अध्यक्ष नेम्बाङलाई पत्र लेखेका हुन् ।
अधिकारीले मागको सुनुवाई नभएमा आफुले फिफा र एएफसीमा यस विषयको उठान गर्ने जनाएका छन् ।
'विश्व कप फुटबल २०२२ का विषयमा विभिन्न सञ्चार माध्यममा आईरहेका समाचारको बारे मेरो पनि ध्यान केन्द्रित भएकोले उक्त बिषयमा म पनि जिम्मेवार पदमा बहाल रहेको नाताले निम्न लिखित विषयहरू अबिलम्ब (आजै कार्यालय समय भित्र ) उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु,' उनले पत्रमा लेखेका छन्, 'यस विषयलाई गहन रूपमा लिईदिन हुन अनुरोध गर्दै अन्यथा यो विषयलाई फिफा र एएफसीमा समेत उठान गर्न बाध्य हुनेछु।'
गत हप्ता द काठमाडौं पोस्टमा एन्फाले कतार विश्वकप २०२२ को टिकट वितरणमा अनियमितता गरेको भन्ने शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि एन्फाले टिकट वितरणमा अनियमितता नभएको स्पष्ट पारेको थियो ।