काठमाडौं । नेपाल तेक्वान्दो संघले नेपालमा तेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि गर्ने अधिकार आफ्नो मातहतमा रहेको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले द्वारा विघटित तेक्वान्दो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै तेक्वान्दो गतिविधिको अधिकार आफुसँग रहने बताएको हो ।
उच्च अदालत पाटनले संघको दर्ता खारेजविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेपछि संघले तेक्वान्दोको सम्पूर्ण गतिविधि आफ्नो मातहतमा रहेको जानकारी गराएको हो ।
राखेपले गरेको दर्ता खारेजीविरुद्ध संघले दायर गरेको रिटमा उच्च अदालत पाटनले बुधबार अन्तरिम आदेश जारी गरेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामजी प्रधान र दिपेन्द्र अधिकारीको इजलासले रिटको अन्तिम निरुपण नभएसम्मका लागि कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
'मुद्दाको अन्तिम निरुपण नभएसम्मका लागि खारेजको निर्णय कार्यन्वयन नगर्नु अन्तरिम आदेश आएको छ,' पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव दीपराज गुरुङले भने, 'जसअनुसार अब राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि यस संघले गर्नेछ ।'
महसचिव गुरुङले विश्व तेक्वान्दोलाई समेत पछिल्लो विवादबारे जानकारी गराएको र त्यहाँबाट आफ्नो काम यथावत रहेर गर्न भनेको समेत बताए ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघलाई विघटन गरेको थियो ।
राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको थियो ।
यस्तै राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको नेपाल तेक्वान्दो महासंघ दर्ता गरेको थियो ।
तर, संघका अध्यक्ष प्रकाश शमशेर राणाले राखेप, युवा तथा खेलकुद मन्त्रालयसहित पाँच संस्थालाई विपक्षी बनाएर पुस ५ गते मुद्दा दायर गरेका थिए ।