काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का प्रतिनिधि नेपाल आएका छन् ।
काठमाडौंमा जारि नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आईसीसीको टोली नेपाल आएको हो ।
आईसीसीको टोलीले बिहीबार दिउँसो राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका थिए ।
त्यसअघि टोलीले टियु क्रिकेट मैदान पुगेर नेपाल टी-ट्वान्टीको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो ।
पछिल्लो समय नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा म्याच फिक्सिङ र स्पट फिक्सिङको गतिविधि भइरहेको चर्चा चलेको छ ।
यस बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत छानबिन गरिरहेको छ ।
यस्तै राखेपले पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।