काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राजधानीमा जारि नेपाल टी-ट्वान्टी लिग क्रिकेटको पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे छानबिन गर्न समिति गठन गरेको छ ।
परिषद्को कार्यकारी समितिको बुधबार बसेको बैठकले परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकास कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
राखेपले कार्यदललाई सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
विदेशी खेलाडीको श्रम स्वीकृती र प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले मागेको कागजात क्यानले उपलब्ध नगराएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत राखेपले विज्ञप्तिमा जनाएको छ ।
'नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा भईरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको सम्बन्धमा परिषद्ले संघसंग आवश्यक प्रमाण कागजात माग गरिएको पत्राचारको वेवास्ता गरेको साथै पछिल्लो समय प्रतियोगिता संचालनका क्रममा संघबाट भएका कमजोरी एवं विसंगतीको वारेमा सार्वजनिक भएको बिषय प्रति राष्ट्रिय खेलकुद परिषद्को गम्भिर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा उल्लेख छ ।