काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित नेपाल तेक्वान्दो महासंघले दुई संघबाट अन्यायमा परेका खेलाडी, प्रशिक्षक र डोजोलाई अन्याय मुक्त गर्ने मुख्य उदेश्य रहेको बताएका छ।
महासंघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दुई संघको कारण खेलाडी, प्रशिक्षक र डोजो अन्यायमा रहेको र त्यसलाई मुक्त गर्नु मुख्य उदेश्य रहेको बताएको हो ।
'दुई तेक्वान्दोले गर्दा खेलाडी, प्रशिक्षक र डोजो अन्यायमा पर्यो । हाम्रो पवित्र उदेश्य खेलाडी, प्रशिक्षक र डोजोलाई अन्यायमा नपारौ भन्ने हो । उनीहरुलाई अन्य मुक्त गर्ने हाम्रो उदेश्य हो,' पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव इन्द्रमान तुलाधरले भने ।
मन्त्रिपरिषदको निर्णय बमोजिम राखेपले पुस ५ गते दुई तेक्वान्दो संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।
राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।
यता, नेपाल तेक्वान्दोले संघले भने राखेको निर्णय गैरजिम्मेवार र अबैधानिक कार्य भन्दै आएको छ । संघ दर्ता खारेजको अधिकार राखेपसँग नभएको जिकिर गर्दै आएको छ ।
राखेपको निर्णयविरुद्ध नेपाल तेक्वान्दो संघले उच्च अदालत पाटनमा मुद्दा समेत दर्ता गरेको थियो । तर, सोमबार उच्च अदालत पाटनका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
महासंघका महासचिव तुलाधरले अदालतको निर्णय आफुहरुले स्वीकार गर्ने समेत बताए ।
'मुद्दा अदालतमा पुगेको छ । अदालतको निर्णय कुर्नेछौँ,' उनले भने ।
तुलाधरले तेक्वान्दो खेलको विकासका लागि मिलेर जानुको बिकल्प नरहेको बताए । उनले नेपाल तेक्वान्दो संघको विधानमा समस्या रहेको समेत बताए ।
'नेपाल तेक्वान्दो संघको विधानमा समस्या छ । उहाहरुको विधान प्राइभेट कम्पनिको जस्तो छ,' उनले भने, 'सबै मिलेर जानुपर्छ । लोकतान्त्रिक पद्दतिबाट निर्वाचन गर्नुपर्छ । उहाहरुले छाति चौडा पार्नुपर्छ ।'
महासंघका अध्यक्ष प्रदिप जोशीले नेपाल तेक्वान्दो संघले एकलौटी तरिकाले राखेपको अनुमति बिना निर्वाचन गरेको आरोप लगाए ।
'तेक्वान्दो विकासका लागि कम्प्रमाइज हुन्छ । राखेप भन्दा उहाहरु माथि ठान्नु गल्ति हो,' उनले भने, 'राखेपले निर्वाचन गर्न उहाहरुलाई स्वीकृति दिएको छैन ।'
महासंघका उपाध्यक्ष अर्जुन बिकले नेपाल तेक्वान्दो संघले नेपाली तेक्वान्दोलाई तहसनहस पारेको उल्लेख गर्दै राखेपको कार्य स्वागतयोग्य भएको बताए ।
तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले तेक्वान्दो विकासमा नेपाल तेक्वान्दो संघको ध्यान नगएको बताए ।