काठमाडौं । कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आज आइतबार राति आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह 'ए' अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
आयोजक कतार र इक्वेडर दुबै टोली उद्घाटन खेलमा जित निकाल्दै विश्वकपमा सुखद सुरुआत गर्ने योजनामा छन् । यस्तोमा दुबै टोलीले बलियो प्लेईङ सेट मैदान उतार्ने छन् ।
कतार विश्वकपको उद्घाटन खेलमा कतारका फरवार्ड हसन अल हेडोस र इक्वेडरका इनर भ्यालेन्सियालाई प्लेयर्स टु वाचको रुपमा हेरिएको छ ।
प्लेयर्स टु वाच -
हसन अल हेडोस (कतार)
विश्वकपको उद्घाटन खेलमा कतारी टोलीको अग्रपंक्तिमा नेतृत्व गर्ने खेलाडी हुन् , हसन । त्यसैले सबैको नजर उनीमाथि हुनेछ ।
हसन कतारका सर्वाधिक गोलकर्ता मध्ये एक हुन् । उनलाई यस विश्वकपमा आफ्नो क्षमता देखाउने अवसर रहेको छ।
३१ वर्षीय स्ट्राइकरले कतारका लागि १ सय ६९ खेलमा ३६ गोल गरिसकेका छन् । हसनले २००८ मा बहराइनविरुद्ध खेल्दै सिनियर टोलीमा डेब्यु गरेका थिए ।
अनुभवी स्ट्राइकर हसन गोल गर्न र गोलका लागि पास उपलब्ध गराउन माहिर छन् । त्यसैले इक्वेडरका डिफेन्डरका लागि उनी खतरनाक हुनेछन् ।
हसन कतारी क्लब अल सादबाट व्यवसायिक फुटबल खेल्ने गर्छन । क्लबका लागि उनले २९४ खेलमा ९२ गोल गरेका छन् ।
इनर भ्यालेन्सिया (इक्वेडर)
भ्यालेन्सिया इक्वेडरका अनुभवी फरवार्ड हुन् । कतारविरुद्ध इक्वेडरको अग्रपंक्ति उनले नै सम्हाल्ने छन् ।
३३ वर्षीय स्ट्राइकरले इक्वेडरका लागि ७४ खेलमा ३५ गोल गरिसकेका छन् । उनी इक्वेडरका लागि सर्वाधिक गोलकर्ता मध्ये एक हुन् ।
कतारी डिफेन्डरका लागि उनी जतिबेला पनि खतरनाक बन्ने छन् । डिफेन्डरको गल्तीमा बललाई जाली चुमाउन सक्ने छन् । किनकि उनी चतुर स्ट्राइकरमा पर्छन ।
युरोपियन फुटबलको अनुभव रहेका भ्यालेन्सिया पछिल्लो समय टर्किस क्लब फेनरवाचबाट खेल्दै आएका छन् । टर्किस क्लबका लागि ७१ खेलमा उनले ३२ गोल गरिसकेका छन् ।
फेनरवाच अघि उनले प्रिमियर लिग क्लब वेस्ट ह्याम र एभर्टनबाट समेत खेलेका थिए ।
भ्यालेन्सियाले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनी २०१४ को विश्वकपमा टिममा थिए । यस्तै उनले चार संस्करणको कोपा अमेरिका खेलेका छन् ।