काठमाडौं । इंग्ल्यान्ड आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिड्नीमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।
श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर १ सय ४४ रन जोडेर पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा एलेक्स हालेसले ४७ रनको योगदान दिए ।
यस्तै बेन स्टोक्सले अविजित रहदै ४२ रन बनाए । कप्तान जोस बट्लर २३ रनमा आउट भए ।

श्रीलंकाका लाहिरु कुमार, धनन्जय डी सिल्भा र वानिन्दु हसरंगा डी सिल्भाले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
श्रीलंकाका लागि पाथुम निसन्काले ६७ रनको अर्धशतकीय इनिङ खेले ।
भानुका राजपाक्षेले २२ तथा कुशल मेन्डिसले १८ रन बनाए ।
इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले समूह १ बाट दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको हो ।
इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो ।
यस समूहबाट न्युजिल्याण्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहदै अन्तिम चारमा पुगेको छ ।
इंग्ल्यान्डको जितसँगै साविक विजेता अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।
श्रीलंकाले जितेको खण्डमा अष्ट्रेलिया अन्तिम चारमा पुग्ने थियो ।
अष्ट्रेलिया ७ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दा समूहको तेस्रो स्थानमा रह्यो ।

यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएको छ ।
श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोड्यो ।