काठमाडौं । आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले जित निकालेको छ ।
एडिलेटमा शुक्रबार भएको रोमान्चक खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।
अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाए ।
गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमानउल्लाह गुरुबाजले ३० रन जोडे ।

इब्राहिम जाड्रनले २६ तथा डार्विस रसोलले १५ रन बनाए ।
अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।
मिचेल मार्शले ४५ रन जोड्दा मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५/२५ रन बनाए ।
अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए । फजलहक फारुकीले २ विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
तर, अष्ट्रेलियाको सेमिफाइनल यात्रा श्रीलंका र इंग्ल्यान्डबीचको खेलले निर्धारण गर्नेछ ।
समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेको छ ।
अष्ट्रेलिया समूहको दोस्रो स्थानमा उक्लिएको छ ।
अफगानिस्तान ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।