काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ।
टियु क्रिकेट मैदानमा शुक्रबार सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो ।
सुदुरपश्चिमका लागि बसन्त खत्रीले २५ रन जोडे । नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए ।
बसन्त कार्की १४ तथा मिलन बोहरा १२ रनमा आउट भए ।
आर्मीका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । बिक्रम सोब र शादब खानले २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो ।
आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले ।
अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे ।
त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भिम शर्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए ।
बिक्रम सोब १५ रनमा अविजित रहदा सोनु तामाङ १६ रनमा आउट भए ।
सुदुरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २/२ विकेट लिए ।
जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा आर्मीलाई एपीएफ क्लबले हराएको थियो ।
आर्मी तेस्रो स्थानमा रहेको छ ।
लगातार तेस्रो हार व्यहोरेको सुदुरपश्चिम पुछारमा रहेको छ ।
सुदुरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ ।