काठमाडौं । काठमाडौं जिल्ला अदालतले नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेले शुक्रबार मुद्दाको किनारा नलागेसम्म सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् ।
मुद्दाबारे बुधबारबाट सुरु भएको थुनछेक बहस सकिएपछि न्यायाधीसले सन्दीपलाई कारागार चलान गर्न आदेश दिएका हुन्।
अदालतको फैसलासँगै सन्दीपलाई केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको छ ।
अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले पीडितको पक्षमा जवाफी बहस गरेका थिए । त्यसअघि बिहीबार सन्दीपको तर्फबाट ८ जना वकिलहरुले बहस गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत सोमबार सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।