काठमाडौं । आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा न्युजिल्याण्डले तेस्रो जित निकालेको छ ।
अष्ट्रेलियाको एडिलेटमा शुक्रबार आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले तेस्रो जित निकालेको हो ।
न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि पाउल स्ट्रर्लिङले सर्वाधिक ३७ रन जोडे ।
कप्तान एन्डी बलब्रिनीले ३० तथा जर्ज डोक्रेलले २३ रन बनाए । लोर्कान टुकर १३ र ग्यारेथ डिलानेले १० रन बनाए ।
न्युजिल्याण्डका लक्की फर्गुसनले ३ विकेट लिए । मिचेल स्टानर, टिम साउथी र इश सोधीले २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै फिन एलनले ३२ तथा ड्रायल मिचेलले अविजित ३१ रन बनाए ।
डेभोन कोन्वेले २८ रन बनाउँदा ग्लेन फिलिप्सले १७ रन जोडे ।
आयरल्याण्डका जोश लिटलले ह्याट्रिक विकेट लिए । उनले १९ औं ओभरको दोस्रो बलमा विलियम्सन, तेस्रो बलमा जेम्स निशम र चौथो बलमा मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।

ग्यारेथ डिलानेले २ विकेट लिए ।
यस जितसँगै न्युजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ ।
न्युजिल्याण्डले ५ खेलबाट ७ अंक जोडेको छ ।
न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ ।
आयरल्याण्ड ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।