काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको मुद्दा बुधबार हेर्दाहेर्दैमा राखिएको हो ।
सन्दीपविरुद्धको मुद्दामा आज बुधबारबाटै थुनछेक बहस सुरू भएको हो । बुधबार ९ जना वकिलले बहस गरेका थिए ।
पीडितको किशोरीको पक्षमा ४ जना सरकारी वकिल, ३ जना वकिल र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका थिए ।
यस्तै सन्दीपको पक्षबाट बहस गरिरहेका वकिल मुरारी सापकोटाले पीडित नाबालिग नभएको प्रमाण अदालतमा पेश गरेका थिए ।
यस अघि मंगलबार सन्दीपको बयान सकिएको थियो । सन्दीपले पीडित किशोरीले कसैको उक्साहटमा आफूमाथि झुटो अभियोग लगाएको बयान दिएका छन् ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।