काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै गण्डकीले लगातार दोस्रो जित निकालेको हो ।
गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १ सय ७६ रन बनाउन सक्यो ।
कर्णालीका हिमान्सु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए ।
गण्डकीका सुबाश भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए । विपिन खत्रीले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।
गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए ।
सुबाश भण्डारी १४ रनमा आउट भए ।
कर्णालीका अनुज चुनाराले ४ विकेट लिए ।
प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट लिए ।
जितसँगै समूह ए को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ ।
गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ ।
कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।