काठमाडौं । लुम्बिनी प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो ।
बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा देव खनालले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङको योगदान दिए ।
प्रज्वल थापाले २९ रन जोड्दा सन्दीप रजाली २९ रनमा अविजित रहे । आकाश त्रिपाठी ३ रनमा आउट भए ।
बागमतीका रिजन ढकाल र प्रतिष जिसीले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए ।
दुर्गेश थापाले ३२ रन जोड्दा अशुतोष घिरियाले २२ रन जोडे । सुर्य तामाङले १७ तथा प्रतिष जिसीले १५ रन बनाए ।
लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । अभिषेक गौतम र विशाल बिक्रम केसीले २/२ विकेट लिए ।
जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।
लुम्बिनी समूह 'बी' को दोस्रो स्थानमा रहेको छ ।
बागमती ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।