काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ ।
अष्ट्रेलियाको एडिलेटमा बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
जिम्बावेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्यान्ड्सले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै टम कुपरले ३२ रन बनाए ।
बास डी लिग १२ रनमा अविजित रहे ।

जिम्बावेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगाभाराले दुई दुई तथा लुक जोंग्वेले एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय १७ रन बनाएको थियो ।
जिम्बावेका लागि सिकन्दर राजाले ४० रन बनाए । सिन विलियम्सले २८ रन जोडे ।
नेदरल्यान्ड्सका लागि पाउल भान मिइकीरेनले ३ विकेट लिए ।

यस्तै ब्राण्डन ग्लोभर, लोगान भान विक र बास डी लिडले २/२ विकेट लिए ।
यस जितसँगै समूह २ को नेदरल्यान्ड्सले ४ खेलमा २ अंक जोडेको छ ।
जिम्बावे ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
