काठमाडौं । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पीडित किशोरीले कसैको उक्साहटमा आफूमाथि झुटो अभियोग लगाएको बयान दिएका छन् ।
जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान दिदै सन्दीपले आफूमाथिको आरोप झुटो भएको दाबी गर्दै उक्साहटमा अभियोग लगाईएको बताएका हुन् ।
सन्दीपका वकिल मुरारी सापकोटाले न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपले कसैको उक्साहटमा किशोरीले अभियोग लगाएको बयान दिएको जानकारी दिए ।
'आज बयान सकियो । थुनछेक बहस हुन् पाएन । भोलिबाट थुनछेक बहस हुन्छ,' सापकोटाले भने, 'सन्दीप जीले गर्नुभएको बयानमा जुन जबर्जस्तीकरणीको अभियोग छ त्यो म प्रति बदनियतका साथ कसैको उक्साहटमा लगाइएको छ, जुन झुटा हो भनेर बयान गर्नुभएको छ ।'
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो ।
भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।