काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा मंगलबार सुदुरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
सुदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
एपीएफको जितमा ओपनर आशिफ शेखले अविजित ४२ रन जोडे । अर्का ओपनर प्रदिप ऐरी २५ रनमा अविजित रहे।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो ।
मैदान ओसिलो भएपछि ढिला खेल सुरु हुँदा खेल ४३ ओभरमा झारिएको थियो ।
सुदुरपश्चिमका लागि कप्तान राजु रिजालले सर्वाधिक २४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
सुदुरपश्चिमलाई सस्तैमा समेट्न एपीएफका भुवन कार्कीले ४ विकेट लिए ।
कमल ऐरी र मौषम ढकालले २/२ विकेट तथा किशोर महतो र अमर सिंह रौटेलाले १/१ विकेट लिए ।
यस जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ ।
एपीएफ समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा एपीएफले आर्मीलाई हराएको थियो ।
सुदुरपश्चिमको यो लगातार दोस्रो हार हो ।
पहिलो खेलमा सुदुरपश्चिम गण्डकी प्रदेशसँग पराजित भएको थियो ।
अंक विहीन सुदुरपश्चिम पुछारमा रहेको छ ।