काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई हराएको छ ।
अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।
यस हारसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ ।
अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाको जितमा धनन्जय डी सिल्भाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ खेले । कुशल मेन्डीसले २५ रन जोड्दा चारिथ असलन्काले १९ रन बनाए ।

भानुका राजपाक्षेले १८ रन जोड्दा पाथुम निसन्काले १० रन बनाए ।
अफगानिस्तानका राशिद खान र मुजिब उर् रहमानले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
अफगानिस्तान रहमानउल्लाह गुरुबाजले २८ रन जोड्दा उश्मान घानीले २७ रन बनाए ।
इब्राहिम जाड्रनले २२ तथा नाजिबउल्लाहले १८ रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए ।
समूह १ मा रहेको श्रीलंकाको यो दोस्रो जित हो ।
श्रीलंकाले ४ खेलमा ४ अंक जोडेको छ ।
श्रीलंका तेस्रो स्थानमा उक्लिएको छ ।
अफगानिस्तान २ अंक जोडेर पुछारमा रहेको छ ।
