काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले भारतलाई हराएको छ ।
अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो ।
भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रीकाका लागि अर्धशतक बनाएका डेभिड मिलरले अविजित रहदै ५६ रनको योगदान दिए ।

एडिन मार्क्रमले ५२ रनको अर्धशतकीय इनीङ खेले । कप्तान टेम्बा बाभुमा १० रनमा आउट भए ।
भारतका अश्रदिप सिंहले २ तथा मोहमद शामी, रविचन्द्र आश्विन र हार्दिक पाण्डयले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन जोडेको थियो ।

भारतका लागि सूर्यकुमार यादबले ६८ रनको अर्धशतकीय इनीङ खेले ।
यस्तै कप्तान रोहित शर्माले १५ तथा विराट कोहलीले १२ रन बनाए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

दक्षिण अफ्रीकाका लुंगी एनजिडीले ४ विकेट लिए । वाएन प्रनिलले ३ विकेट लिए ।
जितसँगै दक्षिण अफ्रीका समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।
दक्षिण अफ्रीकाले ३ खेलमा ५ अंक जोडेको छ ।
भारत ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।