काठमाडौं । विभागीय टोली एपीएफ क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा आइतबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।
एपीएफले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।

हरि चौहान र रोहित पौडेलको अर्धशतकीय इनीङ बाबजुत आर्मीले लक्ष्य पूरा गर्न सकेन।
चौहानले ६५ रनको अर्धशतकीय इनीङ खेले । यस्तै पौडेलले ५१ रनको अर्धशतकीय इनीङ खेले ।
आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन ।

आर्मीलाई सस्तैमा समेट्न एपीएफका अमर रौटेलाले ४ विकेट लिए । कमल ऐरीले ३ तथा किशोर महतोले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय १९ रन बनाएको थियो।
एपीएफका लागि प्रदिप ऐरी र सन्दीप जोराले अर्धशतकीय इनीङ खेले ।
प्रदिपले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाए । सन्दीपले ६२ बलमा ६ चौकासहित ५० रन बनाए ।
यस्तै भुवन कार्कीले २६ रन जोड्दा कप्तान शरद भेषवाकरले १६ रन बनाए । अमर रौटेला १० रनमा अविजित रहे ।
आर्मीका बिक्रम सोबले ४ विकेट लिए ।

शाहब आलम र कुशल मल्लले २/२ विकेट लिए ।
जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।
एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।
आर्मीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।