काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
पुलिसले दिएको २ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले २८ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो ।
बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रन बनाए । रामनरेश गिरीले अविजित २२ तथा प्रतिष जिसीले १४ रन बनाए । नन्दन यादब १० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले ४ रन बनाए ।
पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । करण केसी, गुलसन झा र सागर ढकालले २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो ।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनीङ खेले । उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए ।
योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए ।
पवन सर्राफ १५ रनमा अविजित रहदा दिलीप नाथले अविजित १२ रन जोडे ।
बागमतीका नन्दन यादबले २ विकेट लिए । रामनरेश गिरी, सुर्य तामाङ र सोनु देबकोटाले १/१ विकेट लिए ।
पुलिसका दीपेन्द्र प्लेयर अफ द म्याच घोषित भए ।
जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ । बागमतीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।