काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले जित निकालेको छ ।
ब्रिसबेनमा आइतबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ३ रनले हराएको हो ।
बंगलादेशले दिएको १ सय ५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
जिम्बावेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रनको अर्धशतकीय इनीङ खेले । रायन ब्रुलले अविजित २७ तथा रेगिस चाकबभाले १५ रन बनाए ।
बंगलादेशका तास्किन अहमेद र मोसाडेक होसेनले ३/३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।
बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ७१ रनको अर्धशतकीय इनीङ खेले ।
आफिफ होसेनले २९ रन जोड्दा कप्तान शकिब अल हसनले २३ रन जोडे ।
जिम्बावेका ब्लेसिङ मुजाराबानी र रिचार्ड एनगाराभाले २/२ विकेट लिए ।
यस जितसँगै बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ ।
बंगलादेश समूह २ को दोस्रो स्थानमा उक्लिएको छ ।
जिम्बावेले ३ खेलमा ३ अंक जोडेको छ ।
जिम्बावे चौंथो स्थानमा रहेको छ ।