काठमाडौं । ब्याडमिन्टन खेलाडी एलिना श्रेष्ठको उपचारमा ब्यवसायी राजु बास्तोलाले आर्थिक सहयोग गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेल्ने क्रममा घाईते भएकी एलिनाको उपचारको योनेक्स सनराइज नेपालका प्रोपाइटर राजु बास्तोलाले आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
एलिनाले प्रदेश नम्बर एकबाट नवौं राष्ट्रिय खेलकुदको ब्याडमिन्टन खेलमा सहभागीता जनाएकी थिईन् । महिला एकल समुहमा सुदूरपश्चिम प्रदेशकी खेलाडी प्रसुन्ना खत्रीसँग पहिलो चरणमा खेल्ने क्रममा एलिना घाईते भएकी थिईन् ।
एलिनाको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि ब्यवसायी बास्तोलाले आर्थिक सहयोग उपलब्ध गराएका हुन् । १७ वर्षिय एलिनाको एमआरआई गर्न रकम अभाव भएको थियो ।
संखुवासभा खाँदबारीकी १७ वर्षिया एलिनाले भनिन्, एमआरआईका लागि तपाईले दिनुभएको पैसाले उपचार गराउन पाएको छु । यसका लागि धन्यवाद छ ।
बरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालको पहलमा ट्रमा सेन्टरमा कार्यरत ब्याडमिन्टन खेलाडी तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघका सचिव राजकुमार पोख्रेलको अग्रसरतामा एलिनाको उपचार प्रक्रिया अघि बढेको हो ।