काठमाडौं । मोटर स्पोर्ट गेम्समा सहभागी हुन नेपाली टिम फ्रान्स प्रस्थान गरेको छ ।
फेडेरेसन इन्टरनेश्नल डे अटोमोबाइल (एफआइए)द्धारा फ्रान्समा आयोजित मोटर स्पोर्ट गेम्समा सहभागी हुन ६ सदस्यीय नेपाली टिम सोमबार फ्रान्स प्रस्थान गरेको हो ।
सहभागी खेलाडी तथा अफिसियललाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा खेल पदाधिकारीहरुले बिदाई गरेका थिए ।
नेपालले एफआईएको विश्व स्तरीय प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको हो । नेपालको तर्फबाट अनिल बराल, जिस्वा तुलाधर र दिप्रश शाक्यले प्रतिस्पर्धा गर्दैछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यकारी सदस्य यकेन्द्र कुँवर, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत चतुरानन्द राज वैद्य, एफआईए वल्ड काउन्सिल सदस्य गोबिन्द भट्टराई, नेपालका लागि डेनमार्कका कन्सुलर हरी धरेल, नासा नेपालका अध्यक्ष दशरथ रिजालले खेलाडी तथा अफिसियललाई बिदाई गरेका थिए ।
प्रतियोगितामा नेपालले अटो स्लेलम र कार्टिङ स्प्रिन्टको सिनियर विधामा सहभागीता जनाउनेछ । अक्टोबर २६ देखि ३० गतेसम्म चल्ने प्रतियोगितामा १७ वढी विधामा विश्वभरका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । नेपालकातर्फबाट यदुराज लामिछाने र सृजना बराल अफिसियल तथा टिकाराम यात्री मिडिया पर्सनको रुपमा सहभागी हुनेछन् ।
ओलम्पिक फरम्याटमा हुने यो नै एफआईएको एक मात्र प्रतियोगिता हो । संसारमा अत्यन्त लोकप्रिय रहेको मोटर स्पोर्टस नेपालमा डेढ दशक अघिबाट नासा नेपालको नामबाट आधिकारिक रुपमा सुरुवात भएको हो ।