काठमाडौं । मोटर स्पोर्टसको अन्तराष्ट्रिय महासंघ फेडेरेशन अटो मोबाईल्स (एफआईए)द्धारा फ्रान्सको मार्सेली सहरमा आयोजना हुने मोटर्स स्पोर्टस गेम्समा नेपाल पहिलो पटक सहभागी हुने भएको छ ।
एफआईएमा नेपालको प्रतिनिधित्व गर्ने संस्था नासा नेपालको तर्फबाट अनिल बराल, जिस्वा तुलाधर र दिप्रश शाक्सले विश्व स्तरीय प्रतियोगितामा सहभागीता जनाउने भएका हुन् ।
प्रतियोगितामा नेपालले अटो स्लेलम र कार्टिङ स्प्रिन्ट सिनियर विधामा सहभागी जनाउने नासा नेपालले जनाएको छ ।
अक्टोबर २६ देखि ३१ सम्म हुने प्रतियोगितामा १७ भन्दा बढी बिधा समावेश गरिएको छ । प्रतियोगितामा विश्व भरीका मोटर स्पोर्टसका ड्राइभर्स (एथलेट) सहभागी हुदैछन ।
संसारमै अत्यन्तै लोकप्रिय मानिएको मोटर्सस्पोर्टस नेपालमा भने ढेड दशक अघिबाट मात्र संस्थागत शुरुवात भएको हो । विश्वमा मोटर स्पोर्टसका दुई दर्जन भन्दा धेरै अन्तराष्ट्रिय प्रतियोगिता भैरहेका छन् ।
ओलम्पिकमा केही वर्षअघिमात्र मोटर स्पोर्ट्स गेम्सको शुरुवात भएको हो । अन्य प्रतियोगितामा गाडीको ब्राण्डिङ, कर्पोरेट सहभागिता, ड्राइभर्स (खेलाडी) र टिमको ब्राण्डिङ जस्ता विषयलाई मुख्य आधार मानेर प्रतियोगिता सञ्चालन हुदै आएका थिए ।
फ्रान्समा हुने प्रतियोगितामा भने देशको झण्डा र देशको प्रतिनिधित्व गर्ने खेलाडीका आधारमा सहभागीता जनाउन लागिएको नासा नेपालले जनाएको छ ।
नेपालबाट प्रतियोगितामा सहभागीता जनाउने खेलाडीले थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाईसकेका छन् । प्रतियोगितामा यदुराज लामिछाने र सृजना बराल अफिसियल रहनेछन् ।
प्रतियोगितामा सहभागीताका लागि करिब २२ लाख रुपैयाँ खर्च हुने नासा नेपालले जनाएको छ ।